६९८ पालिकाको नतिजा सार्वजनिक, कुन दलकाे अवस्था कस्तो?
वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा हालसम्म ६९८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले हालसम्म ३०९ पालिकामा प्रमुख जितेको छ भने २८३ स्थानमा उपप्रमुख जितेको छ। कांग्रेसले अझै १८ स्थानमा अग्रता कायम गरिरहेको छ।
त्यस्तै, २०७४ सालमा पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रो दलमा सीमित भएको छ। एमालेले १८८ स्थानमा पालिका प्रमुख जितेको छ भने २१६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी केन्द्रले १२० स्थानमा प्रमुख जितेको छ। उपप्रमुखमा १२३ स्थानमा जित हात पारेको छ। त्यस्तै, जनता समाजवादी पार्टीले २६ स्थानमा जित हात पारेको छ। एमालेबाट विभाजन भएर बनेको दल एकीकृत समाजवादीले पहिलो पटक भाग लिएको स्थानीय निर्वाचनमा १७ स्थानमा प्रमुख र २१ स्थानमा उपप्रमुख जितेको छ।
त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकामा प्रमुख र ९ पालिकामा उपप्रमुख जितेको छ। राप्रपाले ४ र अन्य दलले २३ स्थानमा जित हात पारेका छन् । अहिले पनि महानगर, उपमहानगर र मधेश प्रदेशका केही जिल्ला लगायतका क्षेत्रमा मतगणना चलिरहेको छ। महानगरमा काठमाडौं,पोखरा, भरतपुर, वीरगञ्ज र ललितपुरमा मतगणना भइरहेको छ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् भने भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन्। त्यस्तै, ललितपुरमा नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले अग्रता लिइरहेका छन् भने वीरगञ्जमा जसपामा राजेशमान सिंहले अग्रता कायम गरेका छन्। त्यस्तै, धरान उपमहानगरपालिकामा स्वतन्त्रले अग्रता कायम गरेका छन्। भने धनगढी उपहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन् ।

Comments
Post a Comment