छोरी, श्रीमती र छोरालाई उम्मेदवार बनाउन गठबन्धन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना आफन्तहरुलाई विभिन्न महानगरपालिकाका मेयर र उपमेयर बनाउन गठबन्धन गरिएको आरोप लगाएका छन्। मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, ‘कसैका छोरी, कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु। कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु। यो गठबन्धन यसैका लागि हो।’
काठमाडौंको उम्मेदवारमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह मेयर, भरतपुर महानगरपालिका मेयरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल र विराटनगरको उपमेयरमा उपेन्द्र यादव पुत्र अमरेन्द्र यादव उपमेयरका उम्मेदवार बनेका छन्।
उनले एमालेमा नातावाद, कृपावाद र गणेश प्रवृत्ति नचल्ने बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताको कारण छोरीलाई मेयर बनाउनैपर्ने बाध्यता रहेको बताए।
उनले भने, ‘प्रचण्डको अस्थिरताका कारण छोरीलाई कसरी मेयर बनाउन सकिन्छ भन्ने हो। लक्ष्य केही छैन, गन्तव्य केही छैन। मेयरका लागि बार्गेनिङ गरेको छ।’ उनले २०७४ सालमा छोरीलाई मेयर बनाउने प्रस्ताव लिएर प्रचण्ड आफूकहाँ आएको बताए। आफूले नसक्ने बताएपछि बूढानीलकण्ठ लागेको उल्लेख गरे।

Comments
Post a Comment