एमाले उपाध्यक्ष नेम्बाङको जिल्लामा एमाले खुम्चियो
इलाम । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङको गृह जिल्ला इलाममा नेकपा एमाले खुम्चिएको छ । गत ३० वैसाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमाले अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा खुम्चिएको छ । एमाले खुम्चिँदा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले भने स्थानीय तहमा जित बढाएका छन् । भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी) ले पनि एक सिट जितेको छ । इलामको सबै ४ नगरपालिका र ६ गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले २ नगरपालिका प्रमुख र २ उपप्रमुख, ३ गाउँपालिकामा अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ नगरपालिका प्रमुख, २ उपप्रुमख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले १ नगरपालिका प्रमुख र १ गाउँपालिका उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले १ उपाध्यक्ष जितेको छ । गठबन्धनमा १ नगर प्रमुख, १ उपप्रमुख र १ उपाध्यक्ष पाएको नेकपा (माओवादी केन्द्र) ले जित हासिल गर्न सकेन ।
यस पटकको निर्वाचनमा एमाले खुम्चिनु मात्र होइन, विगत ३० वर्षदेखिको एमालेको एकल वर्चस्व रहेको इलाम समेत गुमाएको छ । एमाले उपाध्यक्ष नेम्बाङको क्षेत्रमा पर्ने इलाम नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी बनेको छ । प्रमुखमा कांग्रेसका केदार थापा र उपप्रमुखमा विष्णु दाहाल लिम्बू विजयी भएका छन् । यो क्षेत्र विगत ३० वर्षदेखि लगातार एमालेले जित्दै आएको क्षेत्र हो ।
त्यस्तै नेम्बाङकै निर्वाचन क्षेत्र चुलाचुली गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका तर्फबाट कांग्रेसका राजेन्द्र केरुङ विजयी भए । उपाध्यक्षमा भने एमालेकी दिलु योङहाङ लावती विजयी भइन् । उता पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको क्षेत्रमा रहेको सूर्योदय नगरपालिका प्रमुखमा एकीकृत समाजवादीका रणबहादुर राई र उपप्रमुखमा कांग्रेसका दुर्गाकुमार बराल विजयी भए । सन्दकपुर गाउँपालिका अध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका तुलनाराम गुरुङ विजयी भए भने उपाध्यक्षमा एकीकृत समाजवादीका हरि लुङ्गेली विजयी भएका छन् ।
रोङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट सुवास स्याङ्बो विजयी भए भने उपाध्यक्षमा एमालेकी विष्णुमाया खवास विजयी भइन् । उता नेम्बाङकै क्षेत्रमा पर्ने अर्को १ नगरपालिका र २ गाउँपालिकामा भने एमालेले जित हासिल गर्न सफल भएको छ । देउमाई नगरपालिका प्रमुखमा एकालेका सुर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई विजयी भएका छन् । माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी भए ।

Comments
Post a Comment