के माइक्रोसफ्टले बन्द गर्दैछ स्काइपी ? विन्डोज ११ बाट किन हटाइयो ?


 माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो ।


नयाँ अपरेटिङ सिस्टममा माइक्रोसफ्टले आफ्नो भिडियो कलिङ एप माइक्रोसफ्ट टिम्स डिफल्ट रहेको छ । तर त्यस्तै खालको अर्को फिचर स्काइपी चाहिँ पहिलोपटक माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टममा राखेको छैन ।


माइक्रोसफ्टको यो कदमले के संकेत गर्दछ भने अब माइक्रोसफ्ट टिम्स कम्पनीको छनोट(फेबराइट चाइल्ड) बनेको छ र कुनै बेला भिडियो कलिङ एपको क्षेत्रको राजा रहेको स्काइपीको अन्त्यको सुरुवात भएको छ ।


यद्यपि पछिल्लोपटक लामो समयदेखि स्काइपीका प्रयोगकर्ताहरु निकै कम हुनका साथै नयाँ नयाँ भिडियो कलिङ एपहरु आएसँगै स्काइपीको सान्दर्भिकता पनि गुम्दै गएको थियो ।


स्काइपीको भविष्य


माइक्रोसफ्टले १० वर्षअघि साढे ८ अर्बमा स्काइपी खरिद गरेको थियो । त्यस बेला स्काइपीको खरिद सम्झौता माइक्रोसफ्टका लागि सबैभन्दा महंगो खरिद बनेको थियो । विश्लेषकहरुले माइक्रोसफ्टले अनावश्यक रुपमा धेरै रकम तिरेको टिप्पणी पनि गरेका थिए ।


तर त्यतिबेला स्काइपी निकै लोकप्रिय थियो । उक्त एप १ अर्ब भन्दा धेरैले डाउनलोड गरेका थिए भने दैनिक करोडौं प्रयोगकर्ता थियो ।


स्काइपी खरीदसँगै माइक्रोसफ्टका प्रमुख स्टिभ बाल्मरले भनेका थिए ः हामीले सँगै रियल टाइम सञ्चारको भविष्य सिर्जना गर्नेछौँ ।


माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टममा स्काइपीलाई डिफल्ट गराएसँगै यसका प्रयोगकर्ता पनि झनै बढ्दै गएका थिए ।


तर स्काइपीले सूचना प्रविधि क्षेत्रमा भएको तीव्र परिवर्तन र प्रयोगकर्ताको रुची र आवश्यकता अनुरुप आफुलाई अपडेट गर्न सकेन । फलतः दशकको मध्यतिर इन्टरनेट फोरममा स्काइपीप्रति प्रयोगकर्ताको तीव्र आलोचना सुरु भयो । यसको डिजाइन तथा पर्फमेन्सबाट पनि प्रयोगकर्ताहरु खुसी हुन सकेनन् ।


त्यहीँ समय ह्वाट्सएप, फेसबुक मेसेन्जर लगायतका मोबाइल मेसेजिङ एपहरुले विस्फोटक लोकप्रियता हासिल गरिरहेका थिए र स्काइपीसँग प्रतिस्पर्धा गर्नेगरी भिडियो कलिंग फिचर पनि सुरु गरे ।


स्काइपीको पहिलो संस्करण सन् २००३ मा लञ्च गरिएको थियो । निरन्तर अपडेटका बाबजुत यसले आफुलाई लामो समयसम्म तन्नेरी राख्न सकेन । स्काइपीको लोकप्रियता घटेसँगै माइक्रोसफ्टले आधुनिक प्रविधिमा आधारित बिजनेस च्याट एपको रुपमा रहेको टिम्स सार्वजनिक गर्‍यो, सन् २०१७ मा ।


विश्लेषक भन्छन् : माइक्रोसफ्ट अहिले स्काइपीलाई धेरै वर्ष पछाडि छाडेर अगाडि बढिसकेको छ । टिम्स नै नयाँ युगको लागि उसको रणनीतिक भ्वाइस तथा भिडियो प्रविधि बनेको छ ।


सबैका लागि टिम्स


वास्तवमा माइक्रोसफ्ट टिम्सले स्काइपीकै प्रविधि प्रयोग गरेको छ । सुरुमा बिजनेस एप क्बिअप को प्रतिस्पर्धीको रुपमा टिम्सको डिजाइन गरिएको थियो । तर यही बीच कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइदियो ।


यसअघि खासै नाम नसुनिएको भिडियो कन्फ्रेन्सिङ एप जुम रातारात हरेक घरको अनिवार्य आवश्यकता बन्यो । र, माइक्रोसफ्ट टिम्स नै जूमको मूख्य प्रतिस्पर्धी बनेको छ ।


विश्लेषकहरुका अनुसार गत वर्ष माइक्रोसफ्ट टिम्सको लोकप्रियता आकाशिएसँगै स्काइपीको ओहोदा माइक्रोसफ्टका लागि केवल लिगेसीको रुपमा मात्रै बाँकी रहेको छ ।


माइक्रोसफ्टले टिम्स एपको पर्सनल भर्सन ल्याएसँगै त्यसले स्काइपीको सान्दर्भिकता समाप्त भएको हो । टिम्सको अत्यधिक सफलतासँगै माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टममा यसलाई डिफल्ट बनाएको छ । यो सँगै नयाँ विन्डोजमा प्रि इन्स्टल्ड एपको सूचिबाट स्काइपीलाई हटाउनुले माइक्रोसफ्टका लागि स्काइपीको साटो टिम्स नै छनोटको प्रडक्ट रहेको र स्काइपीको भविष्य अन्त्य हुन लागेको सहजै अनुमान गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह