लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा जोड
उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी पहल गरिने भएको छ ।
बुधबार सरोकारवाला निकायसँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बालीलगायत अन्य बालीको संरक्षण, उत्पादन र बजारीकरणका लागि छलफल गरिएको छ ।
जिल्लामा उत्पादित रैथाने बाली कसरी जोगाउन सकिन्छ, यसको बजारीकरण कसरी गर्न सकिन्छ र जिल्ला बाहिरबाट आयातित खाद्यान्नको न्यूनीकरण गरी जिल्लामै उत्पादन भएका रैथाने बालीलाई उपभोक्ताको घर घरमा पुर्याउने र जिल्ला बाहिरको मागलाई कसरी पूर्ति गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखतबहादुर खड्काले जानकारी दिए ।
रैथाने बाली संरक्षणका लागि लोप हुन लागेका स्थानीय उत्पादनलाई प्रथामिकता दिने, बजारीकरणका लागि जिल्ला सदरमुकाम सिमकोटलगायतका पायक पर्ने स्थानमा कोसेली घर स्थापना गर्ने र रैथाने बालीको विविधीकरणका लागि जिल्लाका सातवटै स्थानीय तहसहित सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निर्णय गरिएको कार्यालय प्रमुख खड्काले जानकारी दिए ।
जिल्लामा रैथाने बाली कोदो, फापर, चिनो, कागुनो, मार्सी, आलु, धानलगायतको संरक्षणका साथै कृषकले उत्पादन गरेका यी बालीको बजारीकरणका लागि कोसेली घरको व्यवस्था गरिने भएको छ । पोषणका दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमी, मार्सीलगायतका बाली बजारको खोजीका लागि कृषि विकास कार्यालय लागि पर्ने भएको प्रमुख खड्काले जानकारी दिए ।

Comments
Post a Comment