काठमाडौं । समाजमा आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मा पाएको प्रहरीले नै चोरी डकैती गर्छ भन्दा कसैले नपत्याउन सक्छन् । तर कैलालीमा प्रहरी नै चोरीमा संलग्न भएको पाइएको छ । लागूऔषधका कारोबारी समात्न गएका प्रहरीले नै पसलबाट मोबाइल चोरेका छन् ।
पछिल्लो समय भारतसँग खुला सिमाना रहेको कैलालीमा लागूऔषधका कारोबारी र प्रयोगकर्ताले अखडा जमाएको घटना बाहिरिएपछि प्रहरीले निगरानी बढाउन थालेको छ । यसैबीच गोप्य सूचनाका आधारमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरीले नै मोबाइल चोरी गरेको प्रमाण भेटिएको हाे ।धनगढी उपमहानगरपालिका-२, ट्राफिक चोकस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरेको फुटेज सीसी क्यामेरामा रेकर्ड भएको हाे ।
सो मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरी टोलीले मोबाइल ग्यालरीमा गएर चेकजाँच गरेको थियो । प्रहरीले त्यहाँबाट तीन जनालाई पक्राउ गरेको थियो ।
सँगै पसलमा खानतलासी गर्ने क्रममा प्रहरीले मोबाइल पनि चोरेको पाइएको छ । सीसी क्यामेराको फुटेज चेक गर्दा प्रहरीले मोबाइल चोर्दै गरेको दृश्य देखिएको पसल सञ्चालकका आफन्त सुवास रावलले बताए ।
खानतलासीका नाममा प्रहरीले दुईवटा मोबाइल चोरी गरेको भन्दै उनले घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको जनाएका छन् ।
भिडिओसहित निवेदन परेपछि त्यसबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनामा संलग्न देखिएका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतसिंह बुडाललाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीण विष्टले जानकारी दिए ।
दुवै जनाको साथबाट मोबाइल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चोरीमा संलग्न दुवै प्रहरी जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए ।
उनीहरू दुवैलाई फौजदारी अपराधअन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

Comments
Post a Comment